महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिक, इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा सवारी साधन पार्किङ गर्न पाइने छैन ।
मंगलबार कार्यालय समय सुरु भएपछि नगर प्रहरीले न्यूरोड क्षेत्रका सडकमा ‘नो पार्किङ’ लेखिएको संकेत चिह्न राखेको छ । त्यस्तै पार्किङ गरिएका केही सवारी साधन पनि नियन्त्रणमा लिएको छ ।
त्यस क्षेत्रमा काम विशेषले जानेहरुले पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरमा सवारी साधन पार्किङ गर्नुपर्ने महानगरपालिकाले नियम बनाएको छ ।
व्यवसायीहरुले उक्त पार्किङस्थल अपायक हुने र यसले न्यूरोडको व्यापार व्यवसायी तहसनहस हुने भन्दै महानगरलाई यो निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।तर महानगरपालिकाले भने पार्किङ निषेधलाई कार्यान्वयन गरेर ती क्षेत्रमा सरसफाइ गर्ने योजना बनाएको छ ।
गत वर्ष महानगरपालिकाले व्यवसायीहरुको विरोधका बाबजुद दरबारमार्गको सडक किनारमा पार्किङमा रोक लगाएको थियो । न्यूरोडमा मोबाइल पसल सञ्चालन गरिरहेका सबिन बानियाँले पार्किङ निषेधको नियम गलत भएको बताए ।
‘कम्तीमा यो क्षेत्रका व्यवसायीहरुलाई हेर्नुपर्छ नि । हामी जस्तो बटुवा उपभोक्ता र ग्राहक तान्ने (रनिङ कस्टमर टार्गेट गर्ने) व्यवसायीलाई त मार परिहाल्छ नि’ उनले भने, ‘चलिरहेको व्यापार नै मासेर के को नो पार्किङ ?’
उनी अगाडि भन्छन्, ‘पहिले दिनको २० हजार व्यापार हुने ठाउँमा अब २ हजार पनि हुँदैन, महिनाको २ लाख पसल भाडा छ । यस्तो आर्थिक मन्दीमा फेरि अर्को झमेला झिक्न हुँदैनथ्यो ।’